हाम्रो बारेमा
बहुआयामिकता, सामाजिक–सांस्कृतिक बहुलता, भाषिक र भौगोलिक विविधता नेपालको विशेषता हो । नेपालमा मुख्यतः ‘इन्डो आर्यन वा ककेसई’, ‘मङ्गोलई’, ‘द्रविड’ नश्ल/वंशजका मानव समुदायहरूको बसोबास रहेको छ भने ‘भारोपेली’, ‘भोट–बर्मेली’, ‘द्रविड’, ‘मुन्डा/आग्नेय’ र ‘कुसुन्डा’ भाषा परिवारका वक्ताहरू रहेका छन् । बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय, बहुधार्मिक विविधताले भरिएको नेपालमा विगतदेखि वर्तमानसम्म सांस्कृतिक, भाषिक, जातीय, धार्मिक, लैङ्गिक, क्षेत्रीय विभेद कायम छ । सबै संस्कृति, भाषा, धर्म, जाति, लिङ्ग र क्षेत्रका नागरिकहरू राज्यको हरेक अङ्ग र अवसरहरूमा समान सहभागी हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन । बहुलता र विविधतालाई स्वीकार गरिए पनि राज्य एकल भाषा, संस्कृति, धर्म, जाति, समुदायको आधारमा चलिरेहेको छ । राज्यको परम्परागत सोच, संरचना र प्रणालीमा तात्विक परिवर्तन हुन सकेको छैन । विगतदेखि वर्तमानसम्म विभेदका स्वरुपहरू प्रायः उस्तै र केही मात्रामा भिन्न रुपमा रहेका छन् । जसले गर्दा यहाँका आदिवासी जनजाति, मेधसी, महिला र विकट क्षेत्रका समुदायसँगै छन्त्याल जाति बहिष्करण र विभेदका शिकार बनेका छन् । यी विभेद र असमानताको अन्त्य गर्न, छन्त्याल जातिको हक अधिकार स्थापित गर्न, छन्त्यालहरूबीच एकता कायम गर्न, भाषा, संस्कृति, धर्म र जातिको पहिचान जोगाउन सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको छ ।
मौलिक इतिहास, संस्कृति, भाषा, धर्म, प्रथापरम्परा, रीतिरिवाज, जीवनपद्धति र मूल्य मान्यतासहित आफ्नो ऐतिहासिक थातथलो भएको अल्पसङ्ख्यक आदिवासी जनजाति हो, छन्त्याल । नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ अनुसार छन्त्याल नेपालका सूचिकृत ५९ आदिवासी जनजातिमध्ये अल्पसङ्ख्यक तथा सरकारी मानवीय विकास सूचाङ्क–२०५८ को आधारमा नेपाल आदिवासी जनजाति महासंघद्वारा वर्गीकृत ‘सुविधा वञ्चित समूह’मा पर्दछ । छन्त्यालहरूले इतिहासको लामो कालखण्डदेखि धौलागिरि हिमालको पूर्व–दक्षिण–पश्चिम भू–भागमा आवाद गरेर तामा खानी खन्ने र कृषि तथा पशुपालन पेसा अङ्गालेर राष्ट्र–राज्य निर्माणमा योगदान पु¥याउँदै आएका छन् । छन्त्यालहरूको आदिम थातथलो पश्चिम नेपालको धौलागिरि हिमालको पूर्व–दक्षिण–पश्चिम र काली गणडकी नदी क्षेत्र तथा उपत्यकाको भूभाग भएको देखिन्छ । (more…)